उत्कृष्ट जितसँगै वाणगंगा फाइनलमा

सुरज राना मगर, कपिलवस्तु, खेल दैनिक

जनप्रेमी युवा क्लब, पिपरा, कपिलवस्तुको आयोजनामा जारी प्रथम जनप्रेमी कप नकआउट फुटबल प्रतियोगितामा वाणगंगा स्पोर्टस् एण्ड वेलफेयर सोसाईटी फाइनलमा प्रवेश गरेको छ ।
पिपरास्थित जनता मा.वि. को खेल मैदानमा जारी प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न दोस्रो सेमिफाइनलमा वाणगंगाले युनाइटेड कपिलवस्तुलाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

खेलमा अग्रता भने कपिलवस्तुले लिएको थियो । उसका लागि सुवास गुरुङले गोल गर्दै शुरुवाती अग्रता दिलाए तापनि शुरुवाती गोल खाए लगतै वाणगंगाका लागि विकास थापाले गोल गर्दै खेललाई बराबरीमा ल्याईपुराएका थिए । पहिलो हाफ १–१ सकिएपनि दोस्रो हाफमा भने वाणगंगाले थप दुई गोल गर्न सफल भएको थियो । दोस्रो हाफमा वाणगंगाका लागि सुरज हमाल र अनिष शाक्यले थप एक–एक गोल गर्दै वाणगंगाले खेल ३–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

कपिलवस्तुका रक्षक दिपक थापाले रातो कार्डको सामना गर्दै कपिलवस्तु खेलको दोस्रो हाफमा दश खेलाडीमा सिमित हुन पुगेको थियो ।

पराजित टोली युनाइटेड कपिलवस्तुका सुवास गुरुङ खेलको म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता  अन्तर्गत फाइनल खेल वैशाख १९ गते मंगलबार वाणगंगा स्पोर्टस् एण्ड वेलफेयर सोसाईटी र मुहान एफसी बीच हुने आयोजक क्लबका उपाध्यक्ष शुभम कार्कीले जानकारी दिए ।

जनप्रेमी युवा क्लब पिपरा, कपिलवस्तुको आयोजनामा जारी प्रतियोगितामा कुल १४ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित नगद पचास हजार हात पार्नेछन् भने उपविजेता २५ हजार हात पार्नेछ । त्यस्तै सेमिफाइनलमा पुगेका दुई टोलीले पाँच–पाँच हजार नगद हात पार्नेछन् भने अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारहरुको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...