सैनिक झापा लिग च्याम्पियन

रमेश समदर्शी राइ, बिर्तामोड । सैनिक युथ क्लब झापा जिल्ला फुटबल लिग च्याम्पियन बनेको छ ।

शनिबार डोमालाल राजवंशी रङ्गशालामा सम्पन्न फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन न्यू स्टार क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पाखा लगाउँदै सैनिक दोस्रो पटक लिग च्याम्पियन बनेको हो । सैनिक ३ वर्षअघि पनि लिग च्याम्पियन बनेको थियो ।
निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । जसमा सैनिकका लागि रुपेश राई, राजकुमार लिम्बू, आशिष गुरुङ र विनम राईले गोल गरे भने न्यू स्टारका सनम राई र अशित गुरुङले मात्र गोल गरे ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापाको प्रमुख आतिथ्यमा भएको खेलबाट लिग च्याम्पियन सैनिकले नगद २० हजार र ट्रफी पायो भने उपविजेता न्यू स्टारले नगद १५ हजारमा चित्त बुझायो ।

खेलको म्यान अफ दी म्याच सैनिकका सेमी लिम्बू भए । वैशाख ६ गतेदेखि सञ्चालित लिगमा १९ वटा क्लब सहभागी भएको झापा जिल्ला फुटबल संघले जनायो ।


प्रतिक्रिया दिनुहोस

Loading...