आयोजकलाई हराउँदै चाँदनी फाइनलमा

(सुरज राना मगर)  रुपन्देही । न्यू एभरेष्ट एफसी, गैडहवा–८, देवीनगर, मैनिया, रुपन्देहीको आयोजनामा जारी प्रथम न्यू एभरेष्ट नकआउट फुटबल प्रतियोगितामा चाँदनी युवा क्लब फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल अन्तरगत चाँदनीले आयोजक न्यु एभरेष्ट एफसीलाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

खेलमा एकतर्फी जित निकाल्ने क्रममा चाँदनीका  लागि खेलको ८ औं मिनेटमा अशोक थापाले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४१ औं मिनेटमा रञ्जित थापाले गोल गर्दै चाँदनीको अग्रता दोब्बर पारेका थिए भने ८१ औं मिनेटमा बिमल श्रीसले थप एक गोल गर्दै चाँदनीको फाइनल यात्रा पक्का गरेका थिए ।

उता आयोजकका लागि एक मात्र गोल खेलको ५३ औं मिनेटमा भिम थापाले गरेका थिए ।

शुक्रबारको दोस्रो सेमिफाइनल खेलमा चाँदनीका विकास थापा म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत फाइनल खेल वैशाख १८ गते सोमबार फर्साटिकर एफसी र चाँदनी युवा क्लबबीच हुने आयोजक क्लबका प्रकाश ठकुरीले जानकारी दिनुभयो ।

प्रतियोगितामा कुल १६ टोलीहरुको सहभागिता रहेको छ । त्यस्तै प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार र ट्रफी हात पार्नेछन् भने उपविजेताले २५ हजार नगद हात पार्नेछ, त्यस्तै अन्य व्यक्तिगत पुरस्कारहरुको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...