उपाधिका लागि फेरि एनएफसी र एभरेष्ट भिड्ने

राकेश तिमल्सिना, वैशाख १४ ।

साविक उप–विजेता एभरेष्ट क्लबले नारायणगढको क्याम्पाचौरमा जारी जिल्ला लिग फुटबलको फाइनलमा साविक विजेता एनएफसीको सामना गर्नेभएको छ ।
दोश्रो सेमिफाइनलमा बिहीबार एभरेष्टले भरतपुर फुटबल क्लब (बिएफसी) को चुनौती २–० मा पन्छ्याउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

एभरेष्टको जितमा सुरज सेन्चुरी र देव गुरुङले एक–एक गोल गरे । खेलको १० औँ मिनेटमा सुरज सेन्चुरीले २० यार्ड परबाट गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । ४९ औँ मिनेटमा सब्सटिच्युट खेलाडी देव गुरुङले बिएफसीको अग्रता दोब्बर पारे । देवले मैदान छिरेको १ मिनेट नबित्दै गोल गर्न सफल भए । बाँकी समयमा दुबै टोलीले गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न सकेनन् ।

जितसँगै फाइनलमा पुगेको एभरेष्टले साविक विजेता एनएफसीसँग शनिबार दिउँसो ३ बजे प्रतिस्पर्धा गर्नेछ  । गतवर्षको फाइनलमा एभरेष्टलाई १–० ले हराउँदै एनएफसीले उपाधि जितेको थियो ।

प्रतियोगिताअन्तर्गत शुक्रबार जयमंगला र बसन्तपुरको महिला टोलीबिचको मैत्रीपुर्ण खेल हुनेछ । चितवन जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिता वैशाख १६ गतेसम्म सञ्चालन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...