साविक विजेता एनएफसी उपाधि नजिक

राकेश तिमल्सिना

साविक विजेता नारायणगढ फुटबल क्लब (एनएफसी) नारायणगढको क्याम्पाचौरमा जारी जिल्ला लिग फुटबलको फाइनलमा पुगेको छ ।

पहिलो सेमिफाइनलमा बुधबार एनएफसीले मुग्लिङ फुटबल क्लबलाई ४–० को फराकिलो अन्तरमा हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

एनएफसीलाई जिताउन पुकार आले, शेखर उप्रेती, यदु सिलवाल र नितेश गुरुङले एक–एक गोल गरे । खेलको १६ औँ मिनेटमा पुकार आलेको गोलबाट एनएफसीले सुरुआती अग्रता लियो । डीबक्स नजिकै पाएको फ्रिकिकमा उनले बललाई जाली चुमाएका थिए । २८ औँ मिनेटमा राम गुरुङ दोहारो पहेलो कार्ड खादै मैदान बाहिरिदा मुग्लिङ १० खेलाडीमा सिमित बन्यो ।

पहिलो हाफमा १–० ले पछि परेको मुग्लिङले दोश्रो हाफमा ३ गोल खायो । दोश्रो हाफको ७ औ मिनेटमा शेखर उप्रेतीले गोल गर्दै एनएफसीको अग्रता दोब्बर पारे । शेखरले यदु सिलवालको क्रसमा गोल गरे । ५५ औँ मिनेटमा यदु सिलवालको गोलमार्फत एनएफसीले ३–० अग्रता बनायो । त्यस्को १० मिनेटपछि नितेश गुरुङले गोल गर्दै एनएफसीलाई ४–० को जित सहज दिलाए ।

जितसँगै फाइनल पुगेको एनएफसीले बिएफसी र एभरेष्ट क्लबबिचको विजेतासँग उपाधि भिडन्त गर्नेछ । बिएफसी र एभरेष्ट क्लबबिचको खेल विहीबार दिउँसो ३ बजेदेखि हुनेछ । चितवन जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिता वैशाख १६ गतेसम्म सञ्चालन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...