उत्कृष्ट जितसँगै आयोजक सेमिफाइनलमा

सुरज राना मगर, रुपन्देही, खेलदैनिक

न्यू एभरेष्ट एफसी, गैडहवा–८, देवीनगर, मैनिया, रुपन्देहीको आयोजनामा जारी प्रथम न्यू एभरेष्ट नकआउट फुटबल प्रतियोगितामा आयोजक न्यू एभरेष्ट एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गर्ने क्रममा आयोजकले सिद्धार्थ युवा क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।

मंगलबार सम्पन्न प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल अन्तर्गत आयोजक न्यू एभरेष्टको जितमा मनोज गुरुङले खेलको ३१ औं मिनेटमा शुरुवाती गोल गरे भने भिम थापा मगरले ५१ औं र ५७ औं मिनेटमा व्यक्तिगत दुई गोल गरे । त्यस्तै पराजित सिद्धार्थका लागि जितेन्द्र चौधरीले खेलको ६१ औं मिनेटमा एकमात्र सान्त्वना गोल फर्काए पनि टोलीको पराजय टार्न सकेनन् ।

मंगलबारको खेलमा व्यक्तिगत २ गोल गरेका आयोजक न्यू एभरेष्ट एफसीका भिम थापा मगर म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत वैशाख १४ गते बिहीबार पहिलो सेमिफाइनल खेल फर्साटिकर एफसी र शान्ति सिद्धार्थ युवा क्लबबीच हुने आयोजक क्लबका प्रकाश ठकुरीले जानकारी दिनुभयो ।

प्रतियोगितामा कुल १६ टोलीहरुको सहभागिता रहेको छ । त्यस्तै फाइनल खेल मिति २०७४ वैशाख १७ गते आइतबार हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार र ट्रफी हात पार्नेछन् भने उपविजेताले २५ हजार नगद हात पार्नेछ, त्यस्तै अन्य व्यक्तिगत पुरस्कारहरुको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...