फर्साटिकर अन्तिम चारमा

(सुरज राना मगर) न्यू एभरेष्ट एफसी, गैडहवा–८, देवीनगर, मैनिया, रुपन्देहीको आयोजनामा जारी प्रथम न्यू एभरेष्ट नकआउट फुटबल प्रतियोगितामा फर्साटिकर एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा फर्साटिकरले मनकामना युवा क्लबलाई शून्यकाविरुद्ध १ गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गर्न सफल भएको हो ।

फर्साटिकरको जितमा खेलको ४४ औं मिनेटमा नर बहादुर थापाले हेड मार्फत गरेको एकमात्र गोल खेलको निर्णायक गोल बन्न पुग्यो ।

सोमबारको खेलमा फर्साटिकरका लागि निर्णायक गोल गरेका नर बहादुर थापा म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत वैशाख १२ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल आयोजक न्यू एभरेष्ट युवा क्लब र सिद्धार्थ युवा क्लबबीच हुने आयोजक क्लबका प्रकाश ठकुरीले जानकारी दिनुभयो ।

प्रतियोगितामा कुल १६ टोलीहरुको सहभागिता रहेको छ । त्यस्तै फाइनल खेल मिति २०७४ वैशाख १७ गते आइतबार हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार र ट्रफी हात पार्नेछन् भने उपविजेताले २५ हजार नगद हात पार्नेछ, त्यस्तै अन्य व्यक्तिगत पुरस्कारहरुको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...