सुरज राना मगर, रुपन्देही, खेलदैनिक
न्यू एभरेष्ट एफसी, गैडहवा–८, देवीनगर, मैनिया, रुपन्देहीको आयोजनामा जारी प्रथम न्यू एभरेष्ट नकआउट फुटबल प्रतियोगितामा चाँदनी युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा चाँदनीले युवा सञ्जाल सालझण्डीलाई टाईब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । यसअघि निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । निर्धारित समयको खेलमा चाँदनीकालागि सुनिल राना र रविन थापाले गोल गरेका थिए भने सालझण्डीका लागि दुवै गोल पुरन भण्डारीले गरेका थिए ।
आइतबारको खेलमा चाँदनीका गोलरक्षक सन्दिप जि.एम. म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत वैशाख ११ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल मनकामना युवा क्लब र फर्साटिकर एफसी बीच हुने आयोजक क्लबका प्रकाश ठकुरीले जानकारी दिनुभयो ।
प्रतियोगितामा कुल १६ टोलीहरुको सहभागिता रहेको छ । त्यस्तै फाइनल खेल मिति २०७४ वैशाख १७ गते आइतबार हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार र ट्रफी हात पार्नेछन् भने उपविजेताले २५ हजार नगद हात पार्नेछ, त्यस्तै अन्य व्यक्तिगत पुरस्कारहरुको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।