भदौरे युवा क्लब र हाम्रो हिमशिखर क्लब क्वाटरफाइनलमा प्रवेश

हेमजा युनाइटेडद्वारा आयोजित शुभकामना कप नकआउट फुटबल प्रतियोगितामा भदौरे युवा क्लब र हाम्रो हिमशिखर क्लब फेदीखोला स्याङ्जा विजयी भएका छन्।
जितसँगै भदौरे र हाम्रो हिमशिखर क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

आइतबार भएको पहिलो खेलमा भदौरे युवा क्लबले गार्डेन एफसीलाई ४–२ गोलअन्तरले पराजित गर्यो। भदौरेको तर्फबाट विक्रम थापाले ह्याट्रिक गरे। खेलमा म्यान अफ दि म्याच भदौरेका विक्रम लामा घोषित भए।

यस्तै, दोस्रो खेलमा हाम्रो हिमशिखर क्लब फेदीखोला स्याङ्जाले एलजी एशोशिएसनलाई ३–१ गोलअन्तरले पराजित गर्यो। उक्त खेलमा हाम्रो हिमशिखर क्लबको तर्फबाट म्यान अफ दि म्याच गोविन्द केसीले दुई र आत्माघाति एक गोल भएको थियो ।

‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मूलनाराका साथ हेमजा युनाइटेडले आयोजना गरेको उक्त प्रतियोगिता बैशाख ९ सम्म चल्ने छ। प्रतियोगितामा १६ टिम सहभागी छन्। विजेताले एक लाख ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले ७५ हजार, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...