संकटा क्लबद्वारा आफ्ना खेलाडीलाई सम्मान

खेलदैनिक वैशाख ३ / सिएमजी क्लब संकटाले आफ्ना खेलाडीहरुलाई आईतबार सम्मान गरेको छ । मोफसलका प्रतियोगिताहरुमा आफ्ना खेलाडीले हासिल गरेको सफलताबाट उत्साहित भएको क्लबले होटल प्लाटिनममा एक कार्यक्रमका बीच खेलाडीहरुलाई सम्मान गरेको हो ।

सात प्रतियोगितामा फाईनल पुगेको संकटाले यो सिजनमा तीन प्रतियोगिताको उपाधि उचालेको थियो । एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले उत्कृष्ट प्रदर्शनको तारिफ गर्दै बधाई ज्ञापन गरे । यस्तै विजयी यात्राको सफलताको कामना पनि गरे । उनले चाँडै नै वार्षिक क्यालेण्डर सार्वजनिक गर्ने बताउँदै क्यालेण्डरमा ए डिभिजन लिगलाई महत्वका साथ राखिने बताए ।

क्लबका प्रबन्ध निर्देशक नरेन्द्र शाहले मुलुककै एक पुरानो क्लब संकटा सधैं आफ्नो हृदयमा रहेको बताए । प्रायोजकले मात्र फुटबलको विकास नहुने भन्दै उनले खेलाडी जिवनबाट पार भएपछि बाँकी जिवन जिउने किसिमको वातावरण नभएसम्म विकास नहुने उल्लेख गरे । यहाँ लिग निरन्तर नहुँदा धेरै खेलाडी विदेश जानुपरेको उल्लेख गर्दै यस विषयमा एन्फाले सोच्नेमा आफू आशावादी रहेको बताए ।

क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले फुटबलको विकासमा सहकार्य गरेकोमा प्रायोजक सिएमजीलाई आभार व्यक्त गरे । महासचिव सुरेन्द्र शिखाकार, प्रशिक्षकहरु उपेन्द्रमान सिंह, बालगोपाल महर्जन, हरि खड्का लगायतले शुभकामना व्यक्त गरेका थिए । क्लबले खेलाडीहरुलाई जितेको पुरस्कारको आधा रकम प्रदान गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...