उपाधिका लागि राधाकृष्ण र सुनौलो शान्ति भिड्ने

सुरज राना मगर, बुटवल, खेलदैनिक

प्रथम भू.पू. सैनिक कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा राधाकृष्ण एफसी र सुनौलो शान्ति क्लब उपाधिका लागि भिड्ने भएका छन् ।

बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा राधाकृष्णले झरना स्पोर्टस् क्लबलाई पेनाल्टी शुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा सुनौलो शान्तिसँगको भिडन्त पक्का गरेको हो ।

यसअघि निर्धारित समयको खेलमा दुवैतर्फबाट २–२ गोल भएपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट लिनुपरेको थियो । निर्धारित समयको खेलमा झरनाले दुईपल्ट अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा अन्ततः पराजय बेहोर्न पुगेको थियो । झरनाका लागि खेलको छैठौं मिनेटमै विवेक पाण्डेले गोल गर्दै अग्रता दिलाएका थिए तर त्यो अग्रता धेरै बेर टिक्न सकेन, खेलको ११ औं मिनेटमै राधाकृष्णका लागि नविन पुनले बराबरी गोल फर्काएका थिए । त्यसलगते १४ औं मिनेटमै झरना विवेक पुनले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाएका थिए, तर फेरि पनि राधाकृष्णका लागि खेलको २६ औं मिनेटमा सनद क्षेत्रीले बराबरी गोल फर्काउदै खेललाई थप रोमाञ्चकतातर्फ पुराएका थिए । अन्ततः राधाकृष्णले पेनाल्टी शुटआउटमा निर्णय आफ्नो पक्षमा पार्न सफल भएको थियो । जितसँगै राधाकृष्णले उपाधिका लागि सुनौलो शान्ति क्लबसँगको भेट पक्का गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा सुनौलो शान्तिले आयोजक भू.पू. सैनिकलाई पराजित गर्दै यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ ।

बुधबारको खेलमा झरनाका बिनोद राना र अनिल थापा तथा राधाकृष्णका सुर्य थापा र शनद क्षेत्रीले पहेंलो कार्डको सामना गरेका थिए ।

त्यस्तै बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा राधाकृष्णका बरसात गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

अब प्रतियोगिताको फाइनल खेल मिति २०७४ वैशाख १ गते शुक्रबार राधाकृष्ण फुटबल क्लब र सुनौलो शान्ति क्लबबीच हुने आयोजक क्लबका अध्यक्ष गोपीराम पुनले जानकारी दिनुभयो ।

नेपाली नयाँ वर्षको उपलक्ष्यमा आयोजित प्रतियोगिताको फाइनल २०७४ साल बैशाख १ (नयाँ वर्ष) गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया तथा ट्रफी हात पार्नेछन् भने उपविजेता टोलीले ट्रफीसहित नगद ५१ हजार १ सय ११ रुपैया हात पार्नेछन् । प्रतियोगितामा कुल १४ टोलीहरुको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...