झरना स्पोर्टस् सेमिफाइनलमा

सुरज राना मगर, बुटवल, खेलदैनिक

प्रथम भू.पू. सैनिक कप नकआउट फुटबल प्रतियोगितामा झरना स्पोर्टस् क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा झरनाले नवयुवा खेलकुद तथा साँस्कृतिक परिवारलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

झरनाको जितमा खेलको पहिलो हाफको २९ औं मिनेटमा विवेक पुनले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो ।

सोमबारको खेलमा झरनाका विवेक पुन, राम गुरुङ र अंकित ढकाल तथा नवयुवाका सागर सोमरेले पहेंलो कार्डको सामना गरेका थिए ।

सोमबारको खेलमा नवयुवाका गोलरक्षक विशाल सुनार म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत चैत्र २९ गते मंगलबारको पहिलो सेमिफाइनल खेल आयोजक भूपू सैनिक जवई स्र्पोटिङ क्लब र सुनौलो शान्ति क्लबबीच हुने हुने आयोजक क्लबका अध्यक्ष गोपीराम पुनले जानकारी दिनुभयो ।

नेपाली नयाँ वर्षको उपलक्ष्यमा आयोजित प्रतियोगिताको फाइनल २०७४ साल बैशाख १ (नयाँ वर्ष) गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया तथा ट्रफी हात पार्नेछन् भने उपविजेता टोलीले ट्रफीसहित नगद ५१ हजार १ सय ११ रुपैया हात पार्नेछन् । प्रतियोगितामा कुल १४ टोलीहरुको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...