वर्षा बाधक बन्दा मकवानपुर गोल्डकपमा शनिबारको खेल स्थगित

हेटौडा (खेलदैनिक) । स्थानीय तह शहिद स्मृति चौथो मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता अन्तरगत शनिबारको स्थगित भएको छ ।

लगातारको अविरल वर्षापछि मैदानमा खेल खेलाउने अवस्था नदेखिएकाले शनिबार हुने भनिएको फ्रेण्डस क्लब र नेपाल एपिएफ फुटबल क्लबबीचको खेल स्थगित भएको आयोजक मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।

साथै शनिबार स्थगित भएको खेल आइतबार बिहान ८ः३० बजे खेलाईने समेत अध्यक्ष लामाले बताए । त्यस्तै आइतबार नै हुने भनिएको खुमलटार युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल दिनको ३ बजेदेखि खेलतालिका अनुसार नै शुरु हुने पनि आयोजकले जानकारी दिएको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने जेठ ३० गतेका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...