मकवानपुर गोल्डकपमा नव जनजागृतिको विजयी शुरुवात

हेटौडा (खेलदैनिक) । वर्षको पहिलो गोल्डकपका रुपमा बिहीबारदेखि यहाँ शुरु स्थानीय तह शहिद स्मृति चौथो मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा नव जनजागृति युवा क्लब, सिमराले विजयी शुरुवात गरेको छ ।

हेटौडा स्थित पिप्ले क्याम्पा रंगशालामा भएको उद्घाटन खेलमा नव जनजागृतिले बागमती युवा क्लब, सर्लाहीलाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।

नव जनजागृतिका लागि खेलको शुरुवाततिरै विवेक चौधरीले पहिलो गोल गर्दै टोलीलाई खेलमा अग्रता दिलाएका थिए । त्यस्तै खेलको अन्तिमतिर कृपाकान्त चौधरीले दोस्रो गोल थप्दै नव जनजागृतिको जित पक्का गरेका थिए ।

खेलमा बललाई अधिकांश समय आफ्नो नियन्त्रणमा राखेर पनि बागमतीले त्यसलाई सही रुपमा सदुपयोग गर्न सकेन । खेलमा नव जनजागृतिका विवेक चौधरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।

यो जितसँगै नव जनजागृति प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत जेठ २० गते शुक्रबारको खेल भरतपुर एफसी, चितवन र चर्च ब्वाईज युनाइटेड, काठमाडौंबीच हुने आयोजकले जनाएको छ ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, आयोजक मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा लगायतले संयुक्त रुपमा गरेका थिए ।

कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि जेठ ३० गतेका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...