झापा एफसी बी डिभिजन बढुवा

काठमाडौं (खेलदैनिक) । शानदार जितका साथ झापा फुटबल क्लब यहाँ जारी शहिद स्मारक सी डिभिजन लिगबाट बी डिभिजन लिगमा बढुवा भएको छ । सोमबार भएको खेलमा बिरगंज युथ एकेडेमीलाई शून्यका विरुद्ध ५ गोलले हराउँदै झापा बी डिभिजनमा बढुवा भएको हो ।

खेलमा झापाका लागि पुजन राईले ह्याट्रिकसहित चार गोल गरे । राईले खेलको १३, ६५ र ७४औं मिनटमा तीन गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए भने थप एक गोल इन्जुरी समयमा गरेका थिए । त्यस्तै झापाली टोलीका लागि थप एक गोल सन्तोष लावतीले इन्जुरी समयमै गरेका थिए ।

यो नतिजापछि एक खेल खेल्न बाँकी छँदा १२ खेलबाट ३१ अंक जोडेको झापा शिर्ष स्थानमा छ । दोस्रो र तेस्रो स्थानमा भने समान २८–२८ अंक जोडेका प्लानिङ ब्वाईज र आरसी३२ फुटबल एकेडेमी छन् । बी डिभिजनमा बढुवा हुने दोस्रो टोलीको टुंगो अन्तिम खेलबाटै लाग्नेछ ।

यद्यपि अन्तिम खेलमा झापाले आफू अनुकुल नतिजा निकाल्न नसके पनि हेड टु हेडका आधारमा शिर्ष स्थान मै रहने निश्चित छ । जारी सी डिभिजन लिगबाट झापासँग पराजित बिरगंज युथ र ओएसिस क्लब रेलिगेशनमा परेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...