फराकिलो जितसँगै आयोजक सेमिफाइनलमा

सुरज राना मगर, बुटवल, खेलदैनिक

प्रथम भू.पू. सैनिक कप नकआउट फुटबल प्रतियोगितामा आयोजक भूपू सैनिक जवई स्र्पोटिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गर्ने क्रममा आयोजकले न्यू एभरेष्ट युवा क्लबलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

फराकिलो जित हात पार्ने क्रममा आयोजकका लागि भूपूका लागि खेलको १३ औं र ४७ औं मिनेटमा रितेश मल्ले गोल गरे भने खेलको ५९ औं र ६१ औं मिनटमा जनम लिगलले दुई गोल गरे । त्यस्तै थप एक गोल अमर डंगोलले खेलको ४८ औं मिनटमा गरेका थिए । उता पराजित न्यू एभरेष्टका लागि खेलको ५४ औं मिनटमा अजय थापाले एकमात्र सान्त्वना गोल फर्काएका थिए ।

आइतबारको खेलमा आयोजक भूपूका आशिष गुरुङ तथा न्यू एभरेष्टका लोकेन पुनले पहेंलो कार्डको सामना गरेका थिए ।

आयोजक भूपूका जनम लिगल म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत चैत्र २८ गते सोमबारको  अन्तिम तथा चौथो क्वाटरफाइनल खेल नयवयुवा खेलकुद तथा साँस्कृतिक परिवार र झरना स्पोर्टस् क्लबबीच हुने आयोजक क्लबका अध्यक्ष गोपीराम पुनले जानकारी दिनुभयो ।

नेपाली नयाँ वर्षको उपलक्ष्यमा आयोजित प्रतियोगिताको फाइनल २०७४ साल बैशाख १ (नयाँ वर्ष) गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया तथा ट्रफी हात पार्नेछन् भने उपविजेता टोलीले ट्रफीसहित नगद ५१ हजार १ सय ११ रुपैया हात पार्नेछन् । प्रतियोगितामा कुल १४ टोलीहरुको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...