हेम्जा बन्यो कास्की लिग च्याम्पियन

पोखरा (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा सम्पन्न सावित्री निर्माण सेवा कास्की लिगकम नकआउट फुटबल प्रतियोगितामा हेम्जा युनाईटेड क्लब च्याम्पियन बनेको छ ।

पोखरा रंगशालामा बिहिबार भएको फाइनल खेलमा शितल ज्योती युवा क्लबलाई टाइब्रेकरमा ३—० गोल अन्तरले हराउँदै युनाईटेड क्लब च्याम्पियन बनेको हो । ४—४ गोलको बराबरीमा निर्धारित समय सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

यसअघि खेलमा शितलज्योतीको तर्फबाट लिले गुरुङ, प्रतिक गुरुङले समान १ गोल गरेका थिए भने शहिल गुरुङले २ गोलको योगदान दिएका थिए । यता च्याम्पियन बनेको युनाईटेड क्लबका लागि विशाल बिक, सागर कुँवर र मनिष थापा मगरले समान १ गोल गरेका थिए । भने शितलज्योतीको तर्फबाट १ आत्मघाती गोल भएको थियो ।

उपाधि जितेको युनाईटेड क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ७५ हजार प्राप्त गर्यो । त्यसैगरी उपविजेता बनेको शितलज्योतीलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५० हजार प्रदान गरेको खेल संयोजक नर प्रसाद गुरुङले जानकारी दिए ।

उनका अनुसार उक्त प्रतियोगिताबाट हेम्जा युनाईटेडका सन्तोष विक सर्वाेत्कृष्ट खेलाडी घोषित भए । त्यसैगरी सोही क्लबकै सुरेश विक उत्कृष्ट गोलरक्षक, शितलज्योतीका सरोज विक उत्कृष्ट डिफेण्डर, सोही क्लबकै लिले गुरुङ उत्कृष्ट मिडफिल्डर र शितलज्योतीकै प्रतिक गुरुङ उत्कृष्ट फरवार्डका रुपमा ट्रफीद्वारा पुरस्कृत भए ।

युनाइटेड क्लबले अनुशासित टिमको ट्रफी प्राप्त गर्यो । एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङका अनुसार विजेता टोलीले पोखरामा हुने दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा सिधै भाग लिन पाउने छ ।

एन्फा कास्कीमा दर्ता रहेका जिल्लाभरका कुल २२ टिमको सहभागिता रहेको थियो । उक्त लिग गत २१ गतेदेखि पोखरा २५ हेम्जास्थित गौरीशंकर खेलमैदान र पोखरा रङ्गशालाको वैकल्पिक खेल मैदानमा सञ्चालन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...