रोमाञ्चक जितसँगै राधाकृष्ण सेमिफाइनलमा

सुरज राना मगर, बुटवल, खेलदैनिक

प्रथम भू.पू. सैनिक कप नकआउट फुटबल प्रतियोगितामा राधाकृष्ण फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा राधाकृष्णले डि युनिटी विरुद्ध २–१ को रोमाञ्चक जित हात पार्दै सेमिफाइनलको यात्रा तय गर्न सफल भएको हो ।

खेलमा अग्रता भने डि युनिटीले लिएको थियो, खेल शुरु भएको पहिलो मिनेटमै डि युनिटीका केशव कुमालले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर सो अग्रता धेरैबेर टिक्न सकेन । खेलको १२ औं मिनटमै डि युनिटीले आत्मघाती गोल खान पुगेको थियो, बल क्लियर गर्ने क्रममा युनिटीका सुशन गुरुङले आत्मघाती गोल गर्न पुगेका थिए । त्यसपछि दुवैतर्फबाट गोलको प्रयास भए तापनि पहिलो हाफसम्म थप गोल हुन सकेन ।

दोस्रो हाफको अन्तिमतिर खेलको ६५ औं मिनेटमा राधाकृष्णका लागि कमल थापाले निर्णायक गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।

शनिबारको खेलमा युनिटीका बिष्णु बिक र भिम थापा तथा राधाकृष्णका प्रेम सिंजालीले पहेंलो कार्डको सामना गर्नुपरेको थियो ।

त्यस्तै बिहीबारको खेलमा निर्णायक गोल गरेका राधाकृष्णका कमल थापा म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत चैत्र २७ गते आइतबारको तेस्रो क्वाटरफाइनल खेल आयोजक भूपू सैनिक जवई स्र्पोटिङ क्लब र न्यू एभरेष्ट युवा क्लबबीच हुने आयोजक क्लबका अध्यक्ष गोपीराम पुनले जानकारी दिनुभयो ।

नेपाली नयाँ वर्षको उपलक्ष्यमा आयोजित प्रतियोगिताको फाइनल २०७४ साल बैशाख १ (नयाँ वर्ष) गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया तथा ट्रफी हात पार्नेछन् भने उपविजेता टोलीले ट्रफीसहित नगद ५१ हजार १ सय ११ रुपैया हात पार्नेछन् । प्रतियोगितामा कुल १४ टोलीहरुको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...