ललितपुर र मकवानपुरबीच उपाधि भिडन्त तय

हेटौडा (खेलदैनिक) । प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ ललितपुर र मकवानपुर जिल्ला फाइनलमा भिड्ने भएका छन् । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा धादिङलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित गर्दै ललितपुरले फाइनलमा स्थान बनाएको हो ।

त्यसअघि निर्धारित समय दुवै टिमले २–२ गोलको बराबरी खेलेपछि टाइब्रेकर मार्फत् नतिजा लिइएको हो । खेलमा ललितपुरका प्रज्वल शाहीले ५९ र विक्की महर्जनले ६५औं मिनेटमा गोल गरेका थिए भने धादिङका रवि भण्डारीले ७० र विपिन कंडेलले अतिरिक्त समय गोल गरेका थिए ।

त्यस्तै दोस्रो सेमिफाइनलमा दोलखाालाई ५–१ गोल अन्तरले हराउँदै मकवानपुरले ललितपुरसँगको उपाधि भिडन्त पक्का गरेको छ । मकवानपुरका लागि १४ र ५५ औं मिनेटमा समिराज थोकरले गोल गरेका थिए भने ललित चौलागाईले (३४), अमिर श्रेष्ठ (७९) र अनिष महर्जन (८८) ले गोल गरेका थिए ।

दोलखाका स्वयम् श्रेष्ठले ५२औं मिनेटमा एक गोल फर्र्का पनि टिमलाई हारबाट जोगाउन सकेनन् । खेलमा मकवानपुरका अमिर श्रेष्ठ म्यान अफ द म्याच घोषित भए। फाइनल खेल ६ गते आइतबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...