एनएसएलका लागि नेको बन्यो झापाको बिमा पार्टनर

काठमाडौं (खेलदैनिक) । यसै महिना शुरु हुन गईरहेको प्रतिष्ठित नेपाल सुपर लिग (एनएसएल) को नव आगन्तुक टोली झापा एफसीले नेको इन्स्योरेन्सलाई बिमा पार्टनरका रुपमा पाएको छ ।

देश कै पहिलो निजी फुटबल क्लबका रुपमा आफूलाई उभ्याएको झापाले सोमबार नेकोसँग एक कार्यक्रमका सम्झौता समेत गर्यो । कार्यक्रमका क्लबका तर्फबाट उपाध्यक्ष यम बस्नेत तथा नेको इन्स्योरेन्सका सिइओ अशोक कुमार खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार सुपर लिगमा झापामा आवद्ध रहेका खेलाडीहरुको १० लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा हुने पक्का भएको छ । सम्झौतापछि खुशी देखिएका क्लबका उपाध्यक्ष बस्नेतले भने “नेको इन्स्योरेन्सलाई बिमा पार्टनरका रुपमा पाउँदा हामी खुशी छौं । यो सहकार्यका लागि हामी नेको इन्स्योरेन्सलाई धन्यवाद समेत दिन चाहन्छौं ।”

उता नेको इन्स्योरेन्सका सिइओ अशोक कुमार खड्का भन्छन् “झापा एफसीको फुटबल र खेलाडीप्रतिको भिजनबाट हामी प्रभावित भयौं । त्यसैले पनि यो सहकार्य गर्न हामीले अबेर गरेनौं । सुपर लिगमा क्लबसँगको हाम्रो सहकार्य अटुट रहनेछ ।”

उता क्लबका महासचिव सुजन गौतम पनि यो सहकार्यप्रति खुशी देखिए । गौतमका अनुसार खेलाडीहरुको यो स्वास्थ्य बिमाले खेलका क्रममा खेलाडीहरुलाई तनावरहित रहेर मैदानमा डटेर खेल्न हौसला मिल्ने बताए । उनले सुपर लिगमा पहिलो सहभागिता भए तापनि आफूहरुले पहिलो सिजन मै राम्रो गर्ने विश्वास लिएको प्रतिक्रिया समेत दिए ।

स्मरण रहोस, यहि चैत्र २६ गतेदेखि शुरु हुन गईरहेको नेपाल सुपर लिगमा यस सिजन थपिएका तीन नयाँ क्लबसहित कुल १० टोलीहरुले सहभागिता जनाउँदै छन् । झापा एफसीको मार्की प्लेयरमा चर्चित फरवार्ड अन्जन बिष्ट रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...