अभिषेक चर्च बन्यो दोस्रो सुस्ता अध्यक्ष कप च्याम्पियन

नरसही (खेलदैनिक) । यहाँ सम्पन्न दोस्रो सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि अभिषेक चर्च, रजहरले जित्न सफल भएको छ । फाइनलमा अभिषेक चर्चले टाईब्रेकरमा नव युवा क्लब, सुर्यनगरलाई ३–० ले हराउँदै उपाधि माथि कब्जा जमाएको हो ।

सुस्ता गाउँपालिका–४, नरसही स्थित स्थानीय खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित समय दुवै टोलीले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । अभिषेक चर्चका लागि अब्दुलाले २ गोल गरे भने सञ्जोग महर्जनले एक गोल गरेका थिए । उता नव युवाका लागि आशिष जिसीले ह्याट्रिक गरेका थिए । यद्यपि टाईब्रेकरमा भने नव युवा क्लब चुक्न पुग्यो ।

विजेता बनेको अभिषेक चर्चले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्यो भने उपविजेता नव युवा क्लबले १ लाखमा चित्त बुझाउन बाध्य बन्यो । फाइनल खेलको म्यान अफ द म्याच नव युवाका आशिष जिसी चुनिए । उनले सर्वाधिक गोलकर्ताको पुरस्कार पनि हात पारे ।

त्यस्तै उत्कृष्ट गोलरक्षक अभिषेक चर्चका अनिल राना घोषित हुँदा प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी अभिषेक चर्च कै सञ्जोग महर्जन चुनिए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार नगद र ट्रफी प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई सुस्ता गाउँपालिका, नवलपरासीका अध्यक्ष राम प्रसाद पाण्डे, उपाध्यक्ष इन्द्र कुमारी थरुनी लगायतले पुरस्कृत गरेका थिए ।

सुस्ता गाउँपालिकाको आयोजना तथा एकता युवा क्लब र जरलैया युवा क्लब, नरसहीको व्यवस्थानमा गत फागुन १४ गतेदेखि शुरु प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...