अर्किड कप फुटबल प्रतियोगिताको तयारी पूरा

काठमाडौं (खेलदैनिक) । अर्किड स्कुलको आयोजनामा हुने छैटौं अर्किड कप अन्तरविद्यालय नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । फागुन १३ गतेदेखि हुने प्रतियोगिताको तयारी पूरा भएको अर्किडका प्रिन्सिपल चोलेन्द्रबहादुर कार्कीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सेभेन ए साइड फर्मेटमा हुने प्रतियोगितामा ३२ छात्र टिमको सहभागिता रहने अर्किडका अत्तिरिक्त कृयाकलाप शिक्षक सरोज तामाङले बताए । शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् ।

पत्रकार सम्मेलनमा प्रिन्सिपल कार्कीले संस्थागत विद्यालयहरुबीच भाइचाराको सम्बन्ध अझ अभिबृद्धि गर्दै लैजानुका साथै विद्यार्थीमा रहेको प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिताको थालनी गरेको बताए ।

अर्किडका संयोजक नरेन्द्रप्रसाद पाण्डेयले जुनियर स्तरबाटै भविष्यका खेलाडीको पहिचान गर्न सकिने भएको हुँदा अर्किडले जुनियर प्रतियोगितामा विशेष जोड दिदै आएको धारणा व्यक्त गरे ।

अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले कोरोना भाइरसका कारण अधिकांस समय मोबाइलमा व्यस्त रहने विद्यार्थीलाई चलायमान बनाउन र उनीहरुको मनोबल माथि उकास्न प्रतियोगिता महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे ।

प्रतियोगिताका खेलहरु काँडाघारीस्थित आयोजकको आफ्नै मैदानमा हुने छ । फाइनल फागुन २० गते हुने छ । पाँचौं संस्करणको उपाधि केभीएसले जितेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...