झापा एघारले उपाधिको रक्षा गर्न सफल

रमेश समदर्शी, इलाम, खेलदैनिक

तेस्रो माइ भ्याली गोल्ड कपको फाइनलमा आज झापा एघारले नेपाल आर्मी क्लबलाई ट्राइब्रेकरमा ४-२ले हराउदै  उपाधि रक्षा गरेको छ । गोलरक्षक किशोर गिरीको उत्कृष्ट दुई पेनाल्टी किक रोक्दा रमपम झापा एघार इलाममा आयोजित माइभ्याली गोल्डकपको तेस्रो संस्करणको च्याम्पियन बनेको छ ।

शनिबार ठूलो टँडिखेलमा सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरमा पाखा लगाउन झापा ११ का गोलरक्षक किशोर गिरी नायक बने । उनले जितेन्द्र कार्की र दिप लामाको प्रहार बचाए भने सन्तोष तामाङ र जर्ज प्रिन्स कार्कीको प्रहार मात्र गोलमा परिणत भयो ।

निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि १५ मिनेट थप गरिएको थियो । १०५ मिनेटमा पनि निर्णय ननिस्किँदा टाइब्रेकर रोजिएको हो । जसमा झापाका कर्ण लिम्बू, रजिन धिमाल, रञ्जित श्रेष्ठ र बुद्ध चेम्जोङले सहजै गोल गरेर टिमका लागि दोस्रोपटक उपाधि रक्षा गरे ।

यो जीतसँगै आर्मीसँगको पटक पटकको हारको बदला पनि लिएको छ । झापाले आर्मीलाई अहिलेसम्म एक पटकमात्र राष्ट्रिय लिगमा जितेको थियो । त्यसयता जति पटक भेट भयो त्यसमा आर्मी झापामाथि हाबी भएको थियो ।

फिजिकल्ली खेल पस्केको आर्मी ९० मिनेटमै जीत निकाल्ने रणनीतिका साथ मैदान उत्रे पनि झापाले आर्मीलाई पूरा समय रोकेर टाइब्रेकरमा जान खोजेको थियो । ९० मिनेटमै झापाका लागि कर्ण लिम्बूले पाएको दुई सुन्दर अवसर गोलमा परिणत हुन सकेन र १०५ मिनेटमा धकेलिन बाध्य भयो ।

आर्मीका गोलरक्षक विकेश कुथुसँगको वान भर्सेज वानमा कर्ण लिम्बू चुक्दा उनी यो प्रतियोगिताभर गोल गर्न सकेनन् । उनले दुई टाइब्रेकरमा दुई गोल त गरे तर खेल अवधिमा गोलरहित खेलेको कर्णको यो पहिलो टुर्नामेन्ट हो । उनले भने, ‘यो खेलजस्तो नराम्रो अहिलेसम्म भएको थिएन ।’

यसअघिका खेलमा मिडफिल्ड चल्न नसक्दा हारको नजिक पुगेर जीत निकालेका झापाले फाइनल खेलमा पहिलो रोजाइका मिडफिल्डर प्रवेश कटुवाल र योगेश गुरुङलाई एक पछि अर्को गर्दै मैदान पठाएको थियो । आर्मीका कप्तान भरत खवास पनि झापाली पोस्टमा आक्रमण बुन्थे तर सफल हुन्थेनन् । उनलाई किशोर गिरी बाधक भइदिन्थे ।

जीतसँगै झापाले नगद चार लाख र ट्रफी पायो भने आर्मीले अढाइ लाख रुपैयाँमा चित्त बुझायो । आर्मीका खेलाडी विवेक बस्नेतले मस्ट भ्यालुएवल प्लेयरको उपाधिवापत यामाहाको मोटरसइकल पाउँदा झापाका गोलरक्षक किशोर गिरी बेस्ट किप्पर बने ।

बेस्ट डिफेन्स दिलेन लोक्ताम, म्यान अफ दी म्याच र मिड फिल्डरको उपाधि सन्तोष तामाङले जित्दा टङ्क बस्नेत बेस्ट फरवार्ड घोषित हुँदै नगद सात हजार पाउन सफल भए । पुलिसका अभिषेक रिजालले हाइ स्कोरर घोषित हुँदै नगद २५ हजार पाए ।

झापाका प्रशिक्षक सञ्जय राई बेस्ट कोच भए भने माइभ्याली ११ का अभिनाष सुब्बा राइजिङ प्लेयर हुँदै नगद १५ हजार पाउन सफल भए ।

सन्तोष तामाङ खेलको म्यान अफ दी म्याच घोषित हुँदै नगद सात हजार पाउन सफल भए ।

माइभ्याली फुटबल क्लब र इलाम जिल्ला फुटबल संघले आयोजना गरेको गोल्डकप विजेताले नगद चार लाख र उपविजेताले नगद २ लाख ५० हजार जितेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...