सुनौलो शान्ति अन्तिम चारमा

सुरज राना मगर, बुटवल, खेलदैनिक

प्रथम भू.पू. सैनिक कप नकआउट फुटबल प्रतियोगितामा सुनौलो शान्ति क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न पहिलो क्वाटरफाइनलमा सुनौलोले लिस्नु युवा क्लबलाई शून्यका विरुद्ध ४ गोलले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो ।

शुरुवातदेखि नै आक्रमक रुपमा प्रस्तुत भएको सुनौलोका लागि मनु काउचाले खेलको १६ औं र २० औं मिनेटमा गोल गर्दै टोलीलाई दोहोरो अग्रता दिलाएका थिए । पहिलो हाफमा २–० को अग्रता कायम राखेको सुनौलोले दोस्रो हाफमा थप दुई गोल गर्दै सेमिफाइनलको यात्रा सहज रुपमा तय गर्न सफल भयो ।

सुनौलोका लागि दोस्रो हाफमा खेलको ६३ औं मिनटमा सुनिल रानाले गोल गरे भने खेलको ७० औं मिनेटमा मदन पुनले थप एक गोल गरेका थिए । शुक्रबारको खेलमा पराजित टोली लिस्नुले पनि केही सुन्दर गोलको अवसरहरु सदुपयोग गर्न नसक्दा फराकिलो अन्तरले पराजित हुन पुग्यो । खेलमा सुनौलोका जिवन पुन र यमन जि.एम.ले पहेंलो कार्डको सामना गरेका थिए ।

त्यस्तै बिहीबारको खेलमा सुनौलो शान्तिका मनु काउचा म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत चैत्र २६ गते शनिबारको दोस्रो क्वाटरफाइनल खेल राधाकृष्ण फुटबल क्लब र डि युनिटी युथ क्लबबीच हुने आयोजक क्लबका अध्यक्ष गोपीराम पुनले जानकारी दिनुभयो ।

नेपाली नयाँ वर्षको उपलक्ष्यमा आयोजित प्रतियोगिताको फाइनल २०७४ साल बैशाख १ (नयाँ वर्ष) गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया तथा ट्रफी हात पार्नेछन् भने उपविजेता टोलीले ट्रफीसहित नगद ५१ हजार १ सय ११ रुपैया हात पार्नेछन् । प्रतियोगितामा कुल १४ टोलीहरुको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...