साविक विजेता काठमाडौं–११ माडी गोल्डकपको फाइनलमा

बसन्तपुर (खेलदैनिक) । प्रतिस्पर्धात्मक खेलमा साँघुरो जितका साथ साविक विजेता काठमाडौं–११ यहाँ जारी तेस्रो माडी गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बसन्तपुर बजार स्थित स्थानीय खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा काठमाडौंले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै फाइनल यात्रा तय गरेको हो ।

दोस्रो हाफको ५१औं मिनटमा मोइसेले गरेको एक मात्र गोल काठमाडौंलाई उपाधि नजिक पुर्याउन निर्णायक बन्यो । खेलमा काठमाडौंका राजिव लोप्चन म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

काठमाडौंले अब फाइनलमा माघ ८ गते शनिबारका दिन केबिए ग्लोबल भरतपुर एफसीसँग उपाधिका लागि भिड्ने छ । बसन्तपुर युनाइटेड क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख २५ हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...