
काठमाडौं (खेलदैनिक) । विभागीय भिडन्तमा जित निकाल्दनै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।
टियु क्रिकेट मैदानमा भएको फाइनल भिडन्तमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
टस हार्दै पहिलो ब्याटिङको निम्तो पाएको एपिएफले १९.५ ओभरमा सबै विकेट गुमाएर १५७ रनको योगफल तयार पारेको थियो । एपिएफका लागि अमर रौटेलाले सर्वाधिक २९ रन बनाए भने लोकेश बलले २७ रनको योगदान दिए ।
उता जवाफी लक्ष्य पछ्याएको पुलिसले भने निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो । पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले ६५ रन बनाए तापनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
फाइनल खेलमा ४ ओभरमा १७ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिएका एपिएफका किशोर महतो प्लेयर अफ द म्याच घोषित भए । त्यस्तै एपिएफ कै आशिफ शेख म्यान अफ द सिरिज चुनिए ।