उपाधि होडमा झापा र आर्मी

रमेश समदर्शी, इलाम, खेलदैनिक

दोस्रो पटक फाइनल पुगेको रमपम झापा ११ र नेपाल आर्मी क्लब इलामको ठूलो टुँडिखेलमा जारी माइभ्याली गोल्डकपको उपाधि रक्षा गर्ने होडमा छन् ।

पहिलो संस्करणको उपाधि उचालेको आर्मी गतवर्ष एपीएफसँग सेमिफाइनलबाटै घर फर्किएको टोली हो । त्यस्तै, एपीएफलाई फाइनलमा २–० गोलको नतिजामा पराजित गर्दै झापाले दोस्रो संस्कणको उपाधि हत्याएको थियो । मनाङ मस्याङ्दी क्लब, संकटा क्लब, एपीएफ, नेपाल पुलिस क्लब र कोलकात्ताको दुर्गापुरी स्टिल जस्ता उपाधिको दाबेदार मानिएको टोली बाहिरिएपछि अब पुरानै टोलीको कब्जामा उपाधि जाने निश्चित बनेको छ ।

अहिलेसम्मको भेटमा झापालाई पटक पटक पराजित गरेको आर्मी फाइनल भिडन्तमा पनि जित्ने उच्च मनोबलका साथ मैदान उत्रने प्रशिक्षक नविन न्यौपानेले शुक्रबार प्रि-म्याच प्रेस कन्फेरेन्समा बताए । उनले भने, ‘हाम्रा सबै खेलाडी फिट छन्, फिजिकल र टेक्निकल खेल  खेल्छौँ ।’

घाइते भएर रेस्टमा रहेका स्ट्राइकर नवयुग श्रेष्ठको अभाव महसुस भएको बताएका उनले राष्ट्रिय लिगलाई मध्यनजर गरेर अन्य नयाँ खेलाडीलाई अवसर दिँदै आएको पनि बताए । झापाको खेल राम्रो छ भन्दै उनले उनीहरुको मिडफिल्डलाई नियन्त्रणमा राख्न सके जीत सम्भव हुने बताए । ‘टंक बस्नेत हाम्रालागि महत्वपूर्ण  खेलाडी हुन सक्छन्’, उनले भने, ‘फिटनेस चिन्ता होइन, मिडफिल्डमा पकड जमाएर स्कोर गर्न चाहन्छौँ ।’

दुई खेलमा दुई पहेँलो कार्ड पाएपछि फाइनल खेल गुमाएको मिडफिल्डर पुजन उपरकोटी बिना झापा ११ आर्मीसँग भिड्नेछ । उसका पहिलो रोजाइका मिडफिल्डर प्रवेश कटुवाल, योगेश गुरुङ र नगेन्द्रमणि लिम्बू पनि बेञ्चमा हुने सम्भावना छ । ‘योगेश ट्रेनिङमा आइरहेकाले खेल्न सक्छन्’, प्रवेशले भने, ‘हामी मिडफिल्डलाई मजबुत बनाएर जानेछौँ ।’

नियमित खेलाडी नभएकाले डिफेन्समा केही कमजोरी देखिएको भन्दै उनले आर्मीका फिजिकल्ली फिट प्लेयरलाई कसरी बिट गर्ने त्यो रणनीति अपनाउने बताए । ‘आर्मीको फोर फोर टुलाई चिर्न टिकी टाकाको विकल्प अर्को हुने छैन’, उनले भने ।

कर्ण, विशाल र बुद्धलाई भोलि खुलेर विपक्षी पोस्टमा आक्रमण गर्ने मौका दिन मिडफिल्डर तयार रहेको उनले जानकारी गराए । टिममा अधिकांश खेलाडी नयाँ हुँदा जति बेफाइदा हुने गर्छ, त्यसले विपक्षीकोलागि गेम प्लान बुझ्न गाह्रो हुने भएकाले त्यसको फाइदा उठाउँदै झापाले उपाधि रक्षा गर्ने रणनीति बुनेको उनको भनाइ छ ।

आर्मी यस सिजनमा तीन वटा गोल्डकपको उपाधि उचाल्न सफल भइसकेको टोली हो । हेटौँडाको विकास रनिङ शिल्ड, विराट गोल्डकप र नेपाल कप उचालिसकेको आर्मी इलाममा माइभ्याली गोल्डकप रक्षा गर्ने होडमा छ ।

झापाले भने मेची नेत्रालय काँकरभिट्टा गोल्डकपमा जितेको छ ।

झापा र आर्मी यस गोल्डकपमाथि कब्जा जमाउँदै यसवर्षको सिजन सुखद अन्त्य गर्न चाहन्छन् ।

माइभ्याली फुटबल क्लब र इलाम जिल्ला फुटबल संघले आयोजना गरेको गोल्डकप विजेताले नगद चार लाख पाउँदा उपविजेताले नगद अढाइ लाख र ट्रफी पाउनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...