नवयुवासँग जनज्योति पराजित

सुरज राना मगर, बुटवल, खेलदैनिक

प्रथम भू.पू. सैनिक कप नकआउट फुटबल प्रतियोगितामा नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठूटिपिपल क्वाटरफाइनल प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न पहिलो चरणको अन्तिम खेलमा नवयुवाले जनज्योति युवा क्लबलाई शून्यका विरुद्ध २ गोलले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।

नवयुवाको जितमा खेलको ३० औं मिनेटमा आदेश पुनले गोल गरे भने खेलको ४० औं मिनटमा अर्जुन रानाले गोल गर्दै नवयुवाको जित सुनिश्चित पारेका थिए । खेलमा नवयुवाविरुद्ध दबाव राखे तापनि जनज्योतिले गोल गर्न नसक्दा पराजय बेहोर्नु प¥यो । बिहीबारको खेलमा पराजित टोली जनज्योति युवा क्लबका मिशन दर्लामीले पहेंलो कार्डको सामना गरेका थिए ।

त्यस्तै बिहीबारको खेलमा नवयुवाका छविलाल केवट म्यान अफ दि म्याच घोषित भए ।

बिहीबारको खेलसँगै प्रतियोगिताको पहिलो चरणको खेलहरु सम्पन्न भएको छ । प्रतियोगिता अन्तरगत चैत्र २५ गते शुक्रबारको पहिलो क्वाटरफाइनल खेल सुनौलो शान्ति क्लब र लिस्नु युवा क्लबबीच हुने आयोजक क्लबका अध्यक्ष गोपीराम पुनले जानकारी दिनुभयो ।

नेपाली नयाँ वर्षको उपलक्ष्यमा आयोजित प्रतियोगिताको फाइनल २०७४ साल बैशाख १ (नयाँ वर्ष) गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया तथा ट्रफी हात पार्नेछन् भने उपविजेता टोलीले ट्रफीसहित नगद ५१ हजार १ सय ११ रुपैया हात पार्नेछन् । प्रतियोगितामा कुल १४ टोलीहरुको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...