दोस्रो खेलमा नेपालको शानदार जित

काठमाडौं (खेलदैनिक) । आइसीसी टि–२० महिला क्रिकेट विश्वकपको एसियाली छनौटतर्फ नेपालले आफ्नो दोस्रो खेलमा शानदार जित हात पारेको छ । सोमबार मात्र हङकङसँग ६ विकेटले पराजित हुन पुगेको नेपालले मंगलबार भने भुटानमाथि ८ विकेटको शानदार जित दर्ता गर्यो ।

टस हार्दै पहिले फिल्डिङको निम्तो पाएको नेपालले भुटानलाई निर्धारित २० ओभरमा ६१ रन मात्र बनाउन दियो । जवाफी लक्ष्य पछ्याएको नेपालले भने ८.३ ओभरमा ६४ रन बनाउँदै सहज जित हात पार्यो । नेपालका लागि ओपनर इन्दु वर्माले नटआउट सर्वाधिक १८ रन बनाईन् । त्यस्तै अर्की ओपनर सीता राना मगरले १७ रन बटुलिन ।

बलिङतर्फ पनि सर्वाधिक ३ विकेट लिएकी सीता खेलको प्लेयर अफ द म्याच समेत घोषित भईन् । नेपालले आफ्नो आगामी खेल बिहीबार कुवेतसँग खेल्नेछ ।

मंगलबारको जितपछि २ खेलबाट २ अंक जोडेको नेपाल राम्रो रनरेटका आधारमा दोस्रो स्थानमा छ । शिर्ष स्थानमा भने ४ अंक जोडेको अपराजित आयोजक युएई छ । समान २–२ अंक जोडेका मलेसिया, हङकङ र भुटान क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन् । अंकविहीन कुवेत भने पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...