कनकाई र रोङ महिला लिग छनौटको क्वाटरफाइनलमा

काठमाडौं (खेलदैनिक) । उपमेयर कप राष्ट्रिय महिला लिग छनौटतर्फ कनकाई नगरपालिका र रोङ गाउँपालिका आ–आफ्नो खेलमा जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो खेलमा समूह ए को विजेता कनकाईले समूह जे को विजेता सुनकोशी गाउँपालिकालाई पेनाल्टी शुटआउटमा ३–१ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

त्यस्तै दोस्रो खेलमा समूह ई को विजेता रोङ गाउँपालिकाले समूह एफको विजेता तुलसीपुर नगरपालिकामाथि ४–१ को एकतर्फी जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गर्यो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगितामा कुल ३१ टोलीहरुले सहभागिता जनाएका थिए । यहि कार्तिक २८ गतेसम्म चल्ने प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली राष्ट्रिय महिला लिगका लागि छनौट हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...