टरिगाउँलाई हिरा डाँगी स्मृति कपको उपाधि

तुलसीपुर (खेलदैनिक) । प्रथम हिरा डाँगी स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिता २०७८ को उपाधि टरिगाउँ युवा क्लब, तुलसीपुरले जितेको छ । तुलसीपुर दाङ स्थित अरनिको खेलमैदान सम्पन्न फाइनलमा सक्सेस फुटबल क्लबलाई ५–४ ले हराउँदै टरिगाउँ च्याम्पियन बनेको हो ।

विजेता बनेको टरिगाउँले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्यो भने उपविजेता सक्सेसले ६० हजारमा चित्त बुझाउन बाध्य भयो । व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी युएनबिसीका एन्जस रोका घोषित भए । उत्कृष्ट प्रशिक्षक पनि युएनबिसी कै सन्दिप ओली चुनिए भने उत्कृष्ट गोलरक्षक टरिगाउँका शंकर रेउले बने ।

त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार सक्सेसका आशिष जिसीले हात पारे भने उत्कृष्ट डिफेन्डर युएनबिसीका सबिन ओली चुनिए । त्यसैगरी उत्कृष्ट मिडफिल्डर पनि विजेता टरिगाउँ कै माधव भण्डारी घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने सबैलाई जनही ५–५ हजारका दरले पुरस्कृत गरिएको थियो ।

विजयी खेलाडीहरुलाई हिरा डाँगी फाउण्डेशनका अध्यक्ष प्रकाश डागी बम, शारदा नगरपालिका सल्यानका नगर प्रमुख सुरेश अधिकारी तथा दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठ लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए

हिरा डाँगी फाउण्डेशन तुलसीपुर दाङको आयोजनामा कार्तिक १० गतेदेखि शुरु प्रतियोगितामा कुल ११ टोलीहरुले सहभागिता जनाएका थिए ।

गुरुङ सम्मानित

सो अबसरमा दाङको फुटबल खेलको बिकासमा अतुलनीय योगदान पुर्‍याउने स्वर्गीय भानु बिक्रम राणाको स्मरण गर्दै मर्नोपरान्त र दाङको फुटबल खेलमा जिल्ला तथा प्रदेश स्तरका खेलाडी उत्पादन गर्दै फुटबल खेलको बिकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने तुलसीपुर ५ निवासी सुधिर गुरुङलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...