शानदार जितसँगै आयोजक क्वाटरफाइनलमा

सुरज राना मगर, बुटवल, खेलदैनिक

प्रथम भू.पू. सैनिक कप नकआउट फुटबल प्रतियोगितामा आयोजक भू.पू. सैनिक जवई स्पोर्टिङ्ग क्लबले विजयी शुरुवात गरेको छ । बुधबार सम्पन्न खेलमा आयोजकले न्यू वर्मा युवा क्लबलाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै शानदार जित दर्ता गरेको हो । जितसँगै आयोजक भू.पू. सैनिक पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबारको खेलमा अग्रता भने न्यू वर्मा युवा क्लबले लिएको थियो, उसका लागि मिलन थापाले गोल गर्दै टोलीलाई अग्रता लिएका थिए, तथापि त्यो अग्रता धेरै बेर टिक्न सकेन, गोल खाए लगतै आक्रमक बनेको आयोजकका लागि जनम लिगलले व्यक्तिगत दुई गोल गरे भने थप एक गोल अमर डंगोलले गरे । खेलमा आयोजक क्लबका दानु थापाले पहेंलो कार्डको सामना गरेका थिए ।

आयोजक भू.पू. सैनिकका जनम लिगल म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत चैत्र २४ गते बिहीबारको खेल जनज्योति युवा क्लब र नवयुवा खेलकुद तथा साँस्कृतिक परिवारबीच हुने आयोजक क्लबका अध्यक्ष गोपीराम पुनले जानकारी दिनुभयो ।

नेपाली नयाँ वर्षको उपलक्ष्यमा आयोजित प्रतियोगिताको फाइनल २०७४ साल बैशाख १ (नयाँ वर्ष) गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया तथा ट्रफी हात पार्नेछन् भने उपविजेता टोलीले ट्रफीसहित नगद ५१ हजार १ सय ११ रुपैया हात पार्नेछन् । प्रतियोगितामा कुल १४ टोलीहरुको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...