नेपालले एफसी एसियन कप २०१९ छनोट अन्तर्गत यमनसँग हुने खेल अघि मैत्रिपूर्ण खेल खेल्ने भएको छ ।
उक्त कुरा एन्फा प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले गोलनेपालडटकमलाई जानकारी दिए ।
नेपालले एफसी एसियन कप २०१९ छनोट अन्तर्गत दोस्रो खेल आगामी जुन १३ मा यमनसँग घरेलु भूमिमा खेल्नेछ ।
पहिलो अवे म्याचमा नेपाल फिलिपिन्ससँग ४–१ गोल अन्तरले पराजित भयो ।
होम एण्ड अवेका आधारमा चल्ने छनोट अन्तर्गत नेपालले १४ नोभेम्बरमा घरेलु मैदानमा फिलिपिन्ससँग खेल्ने छ । त्यस्तै नेपालले ५ सेप्टेम्बरमा ताजिकिस्तानसँग पनि घरेलु मैदानमा खेल्दा १० अक्टोबरमा नेपालले ताजिकिस्तानसँग उसैको मैदानमा खेल्नेछ । यस्तै नेपालले २७ मार्च, २०१८ मा छनोटको अन्तिम खेलमा यमनसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ ।
नेपाल, फिलिपिन्स, यमन र ताजिकिस्तान समुह ‘एफ’ मा छन् ।
समूह चरणको खेलपछि प्रत्येक समूहको शीर्ष दुईमा पर्ने टोलीले दुई वर्षपछि हुने एसियन कपमा सहभागिता जनाउनेछन् ।