साफ च्याम्पियनसिप शुरु, बंगलादेशको जित

काठमाडौं (खेलदैनिक) । शुक्रबारदेखि शुरु दक्षिण एसियाली फुटबलको प्रतिष्ठित साफ च्याम्पियनसिपको १३औं संस्करणमा बंगलादेशले विजयी शुरुवात गरेको छ ।

माले सिटी नेशनल फुटबल स्टेडियममा सम्पन्न उद्घाटन खेलमा बंगलादेशले दश खेलाडीमा खुम्चिएको श्रीलंकालाई १–० को साँघुरो अन्तरले हरायो । दोस्रो हाफको ५५औं मिनटमा डिकसन पुसलासको रातो कार्ड र पेनाल्टी श्रीलंकाका लागि दुर्भाग्यपुर्ण बन्यो ।

सोही पेनाल्टी अवसरलाई ५६औं मिनटमा टोपु बर्मनले पोष्टको दाँया कुना च्याँप्दै बिना कुनै गल्ती बललाई जाली चुमाएका थिए । त्यो पेनाल्टी गोल नै बंगलादेशलाई महत्वपूर्ण जित दिलाउन निर्णायक पनि बन्यो ।

अब बंगलादेशले ४ अक्टुबरका दिन बलियो तथा दावेदार भारतको सामना गर्नेछ भने सोही दिन श्रीलंकाले नेपालसँग खेल्नेछ । स्मरण रहोस, नेपालले आज नै नेपाली समयअनुसार राती ९ः४५ बजेदेखि आयोजक तथा साविक विजेता माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ ।

(तस्विरः माल्दिभ्स एफए)


प्रतिक्रिया दिनुहोस

Loading...