साफ च्याम्पियनसिपका लागि माल्दिभ्स पुग्यो नेपाल

काठमाडौं (खेलदैनिक) । दक्षिण एसियाली फुटबलको महाभिडन्त साफ च्याम्पियनसिपको १३औं संस्करणमा सहभागिता जनाउन नेपाली राष्ट्रिय पुरुष फुटबल टोली सोमबार माल्दिभ्स पुगेको छ ।

दुई साता भन्दा बढी समय कतारको दोहामा बन्द प्रशिक्षण गरेको नेपाली टोली कतारबाटै माल्दिभ्सतर्फ प्रस्थान गरेको थियो । माले सिटी उड्नु अघि नेपालले बलियो ओमानसँग अन्तिम मैत्रीपुर्ण फुटबल म्याच समेत खेलेको थियो । खेलमा नेपाल ७–२ ले पराजित हुन पुगेको थियो ।

स्मरण रहोस, यहि अक्टुबर १ तारीखदेखि माल्दिभ्समा शुरु हुन गईरहेको प्रतिष्ठित साफ च्याम्पियनसिपको उद्घाटन खेलमै नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

त्यस्तै नेपालले अक्टुबर ४ तारीखका दिन श्रीलंकासँग खेल्नेछ भने १० अक्टुबरका दिन भारतसँग खेल्नेछ । लिग चरणको आफ्नो अन्तिम खेलका रुपमा नेपालले १३ अक्टुबरका दिन बंगलादेशसँग खेल्नेछ ।

माले सिटी स्थित नेशनल फुटबल स्टेडियममा हुने प्रतियोगिता राउण्ड रोबिन लिगका आधारमा हुनेछ । लिग चरणको खेलपश्चात शिर्ष दुई टोली उपाधिका लागि अक्टुबर १६ तारीखका दिन फाइनल खेल्ने छन् ।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरि दक्षिण एसियाका कुल ५ टोलीहरुले सहभागिता जनाउँदै छन् । भुटानले विविध कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो भने पाकिस्तान हाल फिफाको कारवाहीमा परेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...