एपीएफ संकटालाई स्तब्ध पार्दै सेमिफाइनलमा

रमेश समदर्शी, इलाम, खेलदैनिक

इलामको ठूलो टुँडिखेलमा जारी तेस्रो माइ भ्याली गोल्ड कपको अन्तिम क्वाटरफाइनलमा आज एपीएफले उपाधिको दाबेदार मानिएको संकटा क्लबलाई १-० ले पाखा लगाउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

राष्ट्रिय टोलीका सशक्त पाँच खेलाडी बिक्रम लामा, बिमल घर्ती मगर, अनन्त तामाङ र गोलरक्षक बिशाल श्रेष्ठलाई मैदान उतारेको संकटालाई १–० गोलको नतिजामा पराजित गर्दै एपीएफ अन्तिम चारमा पुगेको हो । मंगलवारको अन्तिम क्वार्टरफाइनल खेलमा एपीएफका लागि नविन लामा नायक बने । उनले पहिलो हाफको १७औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो  ।

त्यस्तै, पूर्व राष्ट्रिय टिममा परेका सुनिल बल पनि संकटाको जर्सीमा थिए । विशाल बाहेक अनन्त, विक्रम र विमल पहिलोपटक गोलरक्षकको जर्सी लगाएर मैदान उत्रिएका हुन् ।

यो खेलसँगै उपाधिको दाबेदार मानिएका चार टोली बाहिरिएका छन् । मनाङ मस्र्याङ्दी क्लब, रुपन्देही ११, कोलकात्तासँगै संकटा बाहिरिँदा झापा ११, नेपाल आर्मी, नेपाल पुलिस र एपीएफ सेमिफाइनलमा पुगेका छन् ।

संकटामाथिको जीतसँगै एपीएफले अन्तिम सेमिफाइनल खेलमा झापा ११ सँग भेट पक्का गरेको छ । गतवर्षको संस्करणमा फाइनलमा भेट हुँदा एपीएफमाथि २–० गोलको नतिजामा झापा ११ ले उपाधि रक्षा गरेको थियो ।

राष्ट्रिय टोलीमा आवद्ध स्टार खेलाडीले भरिए पनि उनीहरुबीच तालमेल नमिल्दा संकटा पहिलो चरणमै खेलबाट बाहिरियो । कप्तान विश्व अधिकारीको तालमेल मात्र नभइ बल नियन्त्रण पनि पटक पटक गुम्दा उनी दोस्रो हाफमा प्लेयर बक्समा फर्किएका थिए ।

यस सिजनमा संकटाले हेटौँडाको विकास रनिङ शिल्ड, सिमरा गोल्डकप र तिलोत्तमा गोल्डकपको उपाधि रक्षा गरेको थियो । यस्तै, एपीएफले भने सुरुङ्गा गोल्डकप मात्र जितेको छ । उसले पुसमा सम्पन्न राष्ट्रिय खेलकुद प्रतियोगितामा फुटबलतर्फ स्वर्ण पदक जितेको थियो ।

खेलको म्यान अफ दी म्याच एपीएफका गोलकर्ता नविन लामा घोषित हुँदै नगद सात हजार पाउन सफल भए ।

बुधबार दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लबले पहिलो सेमिफाइनल खेल खेल्नेछन् ।

चैत्र २६ गतेसम्म चल्ने यो प्रतियोगितामा विभागीय टिमसहित १० टिम सहभागि छन् ।

माइभ्याली फुटबल क्लब र इलाम जिल्ला फुटबल संघले आयोजना गरेको गोल्डकप विजेताले नगद चार लाख पाउँदा उपविजेताले नगद २ लाख ५० हजार र ट्रफी पाउनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...