भारत विरुद्ध नेपाललाई केवल जितकै पर्खाई

काठमाडौं (खेलदैनिक) । दशरथ रंगशालामा आज नेपाल र भारत भिड्दै गर्दा नेपाली खेलाडीहरुको लक्ष्य हुनेछ आम नेपाली दर्शकहरुलाई भारत विरुद्धको जितको स्वाद चखाउनु ।

भारत विरुद्धको दुई मैत्रीपुर्ण फुटबल म्याच अन्तरगत आज दशरथ रंगशालामा नेपालले पहिलो खेलमा पाहुना टोलीको सामना गर्दैछ । नेपाली समयअनुसार बेलुका ५ः३० बजेदेखि शुरु हुने आजको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

दुवै टोली अक्टुबरको शुरुवातदेखि माल्दिभ्समा हुने प्रतिष्ठित साफ च्याम्पियनसिपको तयारीमा छन् । अन्तर्राष्ट्रिय फुटबलमा पछिल्लो तथ्यांक हेर्ने हो भने नेपालमाथि भारत हावी देखिएको छ ।

यी दुई टोली एक आपसमा कुल १९ पटक भिडेका छन् । जसमध्ये भारतले १३ खेलमा जित हात पारेको छ भने नेपालले केवल २ खेलमा जित निकालेको छ । त्यस्तै चार खेल भने बराबरीमा टुंगिएको छ ।

आज हुने खेलमा नेपाललाई भारत विरुद्ध इतिहासको पानामा लेखिएका हारका अक्षरहरु मेटाएर जितका सुवर्ण अक्षरहरुले लेख्ने अवसर पनि छ ।

सिमित दर्शकहरुको उपस्थिति

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र भारतबीच हुने खेलका लागि ५१ सय दर्शकहरुलाई प्रवेश दिने बताइसकेको छ । यद्यपि रंगशाला प्रवेश गर्ने दर्शकहरुले आफ्नो पिसीआर रिपोर्ट नेगेटिभ आएको तथा कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाण पेश गर्नुपर्नेछ ।

एन्फाले दर्शकहरुका लागि सामान्यतर्फ १ हजार र भिआईपीतर्फ २ हजार टिकटदर पनि तोकेको छ । साथै दर्शकहरुले प्रभु पेमार्फत अनलाईन टिकट खरिद गर्न समेत सक्ने छन् ।

नेपाल र भारतबीचको मैत्रीपुर्ण फुटबल म्याचको प्रत्यक्ष प्रसारण हिमालय टिभीले गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...