भारत विरुद्धको खेल नेपालका लागि फाईदाजनकः कप्तान चेम्जोङ

काठमाडौं (खेलदैनिक) । नेपाली पुरुष फुटबल टोलीका कप्तान तथा नम्बर एक गोलरक्षक किरन चेम्जोङले भारत विरुद्धको मैत्रीपुर्ण म्याच साफ च्याम्पियनसिपको तयारीका लागि राम्रो र फाईदाजनक रहेको बताएका छन् ।

कप्तान किरनले साफ च्याम्पियनसिपका लागि नेपाली टोलीले लामो समयदेखि राम्रो तयारी गरिरहेको बताउँदै भारत विरुद्धको खेल नेपालका लागि थप फाईदाजनक हुने बताए । अधिकांश युवा खेलाडी रहेको नेपाली टोलीमा भारत विरुद्धको दुई म्याचले युवा खेलाडीहरुमा आत्मविश्वास पनि थप्ने किरनको बुझाई थियो ।

पत्रकार सम्मेलनमा उनले प्रशिक्षक अब्दुला अल्मुतारीको पनि प्रशंसा गरे । किरनका अनुसार प्रशिक्षक अब्दुलाले खेलाडीहरुलाई सधै हौसला र उत्प्रेरणा दिईरहेको बताए । साथै प्रशिक्षक अब्दुलाले खेलाडीहरुलाई शारीरिक रुपमा मात्र नभएर मानसिक रुपमा पनि बलियो बनाउन निरन्तर सरसल्लाह र सुझाव दिईरहेको बताए ।

स्मरण रहोस, नेपाल र भारतबीचको दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याच यहि भदौ १७ र २० गतेका दिन हुँदैछ । दशरथ रंगशालामा हुने दुवै खेलहरु बेलुका ५ः३० बजेदेखि शुरु हुने एन्फाले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...