मैत्रीपुर्ण फुटबल म्याचका लागि काठमाडौं ओर्लियो भारतीय फुटबल टोली

काठमाडौं (खेलदैनिक) । नेपाल विरुद्धको दुई मैत्रीपुर्ण फुटबल म्याचका लागि भारतीय पुरुष राष्ट्रिय फुटबल टोली सोमबार काठमाडौं ओर्लिएको छ । भारतीय टोलीले नेपालसँग यहि भदौं १७ र २० गतेका दिन दशरथ रंगशालामा दुई मैत्रीपुर्ण फुटबल म्याच खेल्ने कार्यक्रम छ ।

भारतीय टोली यसअघि अन्तिमपटक सन् २०१५ मा नेपाल आएको थियो । सन् २०१८ को फिफा विश्वकप छनौटको प्ले अफ खेल्न नेपाल आएको भारतीय टोलीले त्यतिबेला नेपालसँग गोलरहित बराबरी खेलेको थियो । यद्यपि पहिलो लेगमा हात पारेको २–० को जितको नतिजाले भारत छनौट प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको थियो ।

भारतीय फुटबल टोलीले मंगलबारदेखि नैै अभ्यास थाल्ने बताइएको छ । यसअघि कोलकातामा दुई साताभन्दा बढी बन्द प्रशिक्षणमा रहेको भारतीय टोलीले त्यहाँ खेलेको दुई प्रदर्शनी खेलमा जित समेत हात पारेको थियो । पहिलो खेलमा इण्डियन फुटबल एसोसिएशन –आइएफए) लाई १–० ले हराएको थियो भने दोस्रो खेलमा चर्चित आइ लिग क्लब मोहम्मदन स्र्पोटिङ क्लबलाई २–० ले पराजित गरेको थियो ।

यता नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले पनि पोखरामा लामो समय बन्द प्रशिक्षण गरेको थियो । भारत विरुद्धको दुई मैत्रीपुर्ण खेलपश्चात नेपाल थप प्रशिक्षणका लागि कतार जाने कार्यक्रम पनि छ । स्मरण रहोस, नेपाल र भारत दुवै टोली आगामी अक्टुबर पहिलो सातादेखि शुरु हुन गईरहेको प्रतिष्ठित साफ च्याम्पियनसिपको तयारीमा पनि छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...