मनाङ्लाई हराउदै पुलिस सेमिफाईनलमा

रमेश समदर्शी, इलाम , खेलदैनिक

प्रतिष्ठित तीन उपाधिमाथि कब्जा जमाइसकेको मनाङ मस्र्याङ्दी क्लबमाथि नेपाल पुलिस क्लबले बाजी मारेको छ । इलामको ठूलो टुँडिखेलमा जारी माइभ्याली गोल्डकपको तेस्रो संस्करणमा पुलिसले मनाङमाथि बाजी मारेको हो ।

सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा मनाङलाई १–० गोलले पाखा लगाउँदै पुलिस अन्तिम चारमा स्थान सुरक्षित बनाउन सफल बन्यो । पुलिसका लागि अभिषेक रिजाल नायक बने ।

इलामको प्रतिकुल मौसममा मनाङका खेलाडी जम्न सकेनन् । पुलिसका लागि खतरा सावित हुने लोभलाग्दा मुभ बुन्न नसकेका मनाङका खेलाडी अन्तिमसम्म पुलिसको दबाबमा रह्यो । गोल्डकपको उद्घाटन खेलमा आयोजक माइभ्याली ११ लाई पराजित गरेर मनाङसँग भेट गरेको पुलिसका लागि खेलको ३६औँ मिनेटमा अभिषेक रिजालले निर्णायक गोल गरेका थिए ।

माइभ्याली ११ सँगको भेटमा जुमानु राईले कप्तानी सम्हालेका थिए भने मनाङसँग भोला सिलवाल कप्तान थिए । सुजल श्रेष्ठको कप्तानीमा रहेका मनाङका खेलाडीले अफ्रिकन खेलाडी ओलावालेको अभाव महसुस गरेका थिए ।

यसपटकको एकै सिजनमा खप्तड गोल्डक, सहारा गोल्डकप, झापा गोल्डकपजस्ता प्रतिष्ठित गोल्डकपमाथि कब्जा जमाएको मनाङ पुलिससँग इलाममा स्तब्ध बन्यो । पुलिस भने धरानमा सम्पन्न बुढा सुब्बा गोल्डकपको मात्र उपाधि रक्षा गर्न सफल बनेको टोली हो ।

इलामको मौसम सोमबार पूरै प्रतिकुल रह्यो । दुई पटकसम्म खेल स्थगित गर्नु परेको थियो । बाक्लो हुस्सुका कारण दोस्रो हाफको १७ र ३१औँ मिनेटमा मैदानभित्र बल र खेलाडी चिन्न नसक्ने अवस्था सिर्जना भएपछि मुख्य निर्णायक लव खत्रीले खेल स्थगित गरेका थिए । खेल सकिनासाथ पानी परेको थियो ।

खेलको म्यान अफ दी म्याच पुलिसका भोला सिलवाल घोषित हुँदै नगद सात हजार पाउन सफल भए ।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा मंगलवार एपीएफ र संकटा क्लबबीच खेल हुनेछ ।

चैत्र २६ गतेसम्म चल्ने यो  प्रतियोगितामा विभागीय टिमसहित १० टिम सहभागि छन् ।

माइभ्याली फुटबल क्लब र इलाम जिल्ला फुटबल संघले आयोजना गरेको गोल्डकप विजेताले नगद चार लाख पाउँदा उपविजेताले नगद २ लाख ५० हजार र ट्रफी पाउनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...