नवयुगको गोलले पोखरालाई पहिलो सफलता

काठमाडौं (खेलदैनिक) । खुकुरी नेपाल सुपर लिगमा पोखरा थन्डर्सले पहिलो जितको स्वाद चाखेको छ । सुपर लिगको आफ्नो पहिलो खेलमा बुटवल लुम्बिनी एफसीसँग पराजित हुन पुगेको थन्डर्सले बुधबार बिराटनगर सिटी एफसीमाथि १–० को साँघुरो र महत्वपूर्ण जित निकाल्यो ।

दशरथ रंगशालामा भएको दोस्रो खेलमा थन्डर्सका लागि मार्की खेलाडी तथा टोलीका कप्तान नवयुग श्रेष्ठ निर्णायक रहे । श्रेष्ठले खेलको अन्तिमतिर ८३औं मिनटमा गरेको एक मात्र गोल थन्डर्सलाई महत्वपूर्ण तीन अंक दिलाउन निर्णायक बन्यो ।

नवयुग नै खेलको सुपर प्लेयर अफ द म्याच समेत चुनिए । उनले त्यसवापत नगद २५ हजार र ट्रफी हात पारे । यसअघि अंकविहीन रहेको थन्डर्सले बुधबारको खेलसँगै आफ्नो खातामा तीन अंक जोड्न सफल भएको छ ।

सुपर लिगतर्फ बैशाख १६ गते बिहीबारको खेल ललितपुर सिटी एफसी र धनगढी एफसीबीच हुने आयोजकले सार्वजनिक गरेको खेलतालिकामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस

Loading...