संकटाका राजाले पाए आकर्षक स्कुटर

पोखरा (खेलदैनिक) । गत महिना पोखरामा सम्पन्न १९औं आहा ! रारा गोल्डकपको उत्कृष्ट खेलाडी बनेका संकटा क्लबका गोलरक्षक राजाबाबु थापालाई स्कूटर हस्तान्तरण गरिएको छ ।

सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगिताको १९औं संस्करणमा उत्कृष्ट खेलाडी चुनिएका राजालाई त्यसवापतको पुरस्कार एक थान अप्रिला स्कुटर सोमबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

राजालाई पोखरामा अप्रिलाका अधिकृत बिक्रेता सिताज लाइफ स्टाइलका प्रबन्ध निर्देशक अनुजकुमार बास्तोलाले स्कूटर हस्तान्तरण गरेका हुन् । सो अवसरमा सहारा क्लब, पोखराका अध्यक्ष केशवबहादुर थापा, पूर्व अध्यक्ष विक्रम थकाली, प्रथम उपाध्यक्ष हरिराम गुरुङ (सुरज) लगायतको उपस्थिति रहेको थियो ।

पुरस्कार वापत राजाले प्राप्त गरेको स्कूटर अप्रिला स्ट्रोम १२५ को बजार मूल्य २ लाख ४६ हजार ९ सय रहेको छ । कम्पनीले स्कुटरमा लाग्ने कर समेत छुट गरी राजालाई हस्तान्तरण गरेको जनाएको छ ।

पोखरा रंगशालामा गत चैत २१ देखि शुरु भई २८ गतेसम्म चलेको प्रतियोगिताको फाइनलमा राजाबाबु कै उत्कृष्ट प्रदर्शनको सहयोगमा संकटाले अफ्रिकन रुटस एसोसिएशन, क्यामरुनलाई टाईब्रेकरमा हराउँदै उपाधि जितेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...