वडा नम्बर १ लाई बुद्धशान्ति अध्यक्ष कपको उपाधि

बुधबारे (खेलदैनिक) । प्रथम अध्यक्ष कप वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि बुद्धशान्ति १ नम्बर वडाले हात पारेको छ ।

होक्सेस्थित त्रिभुवन माविको खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर २ लाई ३–० गोलको फराकिलो अन्तरले पराजित गर्दै वडा नम्बर १ ले उपाधि जित्न सफल भएको हो ।

१ नम्बर वडाका लागि विकास कट्टेल र सागर रसाइलीले गोल गर्न सफल भए । खेलमा पहिलो हाफको छैटौं मिनेटमै विकास कट्टेलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलको १२औँ मिनेटमा सागर रसाइलीले गोल गरेर अग्रता दोब्बर बनाए । रसाइलीले नै खेलको १८औं मिनटमा व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्दै जित पक्का गरेका थिए ।

फाइनल खेलको म्यान अफ द म्याच २ नम्बर वडाका बबिन बोहोरा घोषित भए । त्यसैगरी विवेक मगर उत्कृष्ट गोलरक्षक चुनिए भने पवन परियार उत्कृष्ट डिफेन्डर बने ।

हेमन्त सुजी उत्कृष्ट मिडफिल्डर बन्दा सागर रसाइली उत्कृष्ट फरवार्ड घोषित भए । प्रतियोगिता कै उत्कृष्ट खेलाडी भने बिकास कट्टेल बन्न सफल भए । त्यस्तै उत्कृष्ट प्रशिक्षक भने बालकृष्ण राई घोषित भए ।

विजेता टोलीले उपाधिसहित नगद ३० हजार हात पार्यो भने उपविजेताले २० हजारमा चित्त बुझायो । विजेता टिमलाई बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेल, उपाध्यक्ष मीरा भूर्तेल, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ’मामा’ लगायतले पुरस्कार प्रदान गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...