आयोजकलाई कनकाई भेट्रान्स कपको उपाधि

सुरुङ्गा (खेलदैनिक) । सहज र प्रभावशाली जितका साथ शनिबार सम्पन्न कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि आयोजक कनकाई भेट्रान्स क्लबले जितेको छ ।

फाइनलमा पाहुना टोली हाम्रो इटहरी भेट्रान्स क्लबलाई ३–० गोलको अन्तरले हराउँदै कनकाई भेट्रान्स च्याम्पियन बनेको हो ।

शनिबार कनकाई माविको खेल मैदानमा भएको फाइनल खेलमा कनकाईले हाम्रो इटहरीलाई सुरुवातदेखि नै दबाबमा राखेको थियो । हाम्रो इटहरीले केही मुभ बनाए पनि गोल गर्न भने सकेन ।

खेलको १३औँ मिनेटमा कनकाईका रमेश गुरुङले गोल गर्दै आयोजकलाई सुरुवाती अग्रता दिलाएका थिए । इटहरीको फितलो रक्षापंक्तिको फाइदा उठाउँदै सन्तोष बस्नेतले मिलाइदिएको क्रसलाई रमेशले गोलको दिशा दिएका थिए ।

त्यस्तै, रमेशको पासमा सन्तोषले टिमका लागि २४औँ मिनेटमा दोस्रो गोल गरेका थिए । ४४औँ मिनेटमा सन्तोषले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै आयोजक टोलीको जित पक्का गरेका थिए ।

गोलपोस्टको दायाँ बार च्यापेर सन्तोषले गरेको प्रहार गोलरक्षको हातबाट फुस्किएर गोलमा परिणत भएको थियो । १६ र २०औँ मिनेटमा नरेन्द्रमणि लिम्बूको दुई वटा हेडर इटहरीका गोलरक्षक देव कान्तले बचाएका थिए ।

फइनल खेलको म्यान अफ द म्याच आयोजक कनकाईका सन्तोष बस्नेत भए । उनलाई ढुवानी व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा युवा व्यवसायी श्याम प्रसाईंले नगद दुई हजार रुपैयाँ प्रदान गरे ।

प्रतियोगिताभरिको उत्कृष्ट गोलरक्षक कनकाईका सञ्जय ठाकुर भए । उनले नगद दुई हजार पाए । उत्कृष्ट खेलाडी रमेश गुरुङ घोषित भए । उनले नगद पाँच हजार पाए ।

त्यस्तै विजेता बनेको कनकाईले उपाधिसहित १ लाख १ हजार हात पार्यो भने उपविजेता इटहरीले ६१ हजारमा चित्त बुझायो । विजेता तथा उपविजेता टोलीलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मञ्जु प्रसाईंलगायतले पुरस्कार वितरण गरेका थिए ।

कनकाई भेट्रान्स क्लबको आयोजनामा कनकाई माविको खेल मैदानमा भएको प्रतियोगितामा ८ वटा टिम सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...