सहारा एकेडेमीलाई राजन एण्ड ब्रदरहुडको सहयोग

पोखरा (खेलदैनिक) । पोखरामा नेपालकै सर्वाधिक राशिको फुटसल प्रतियोगिता सम्पन्न गरेको राजन एण्ड ब्रदरहुडले मोफसलको परिचित सहारा एकेडेमीलाई फुटबल र ट्रयाकसुट सहयोग गरेको छ ।

प्रतियोगिता संयोजक आशिष क्षेत्रीको पहलमा राजन एण्ड ब्रदरहुडले शुक्रबार दोविल्ला स्थित सहारा एकेडेमीमै पुगेर १० थान फुटबल र २६ सेट ट्रयाकसुट सहयोग गरेको हो । सो सहयोग सामाग्री संयोजक श्रेत्रीले सहारा क्लबका अध्यक्ष केशव बहादुर थापालाई हस्तान्तरण गरे ।

सो अवसरमा बोल्दै क्षेत्रीले प्रतियोगिताबाट संकलित केही रकमबाट सहारा एकेडेमीमा आश्रित बालकहरुलाई सहयोग गरेको बताए । उनले सहयोग मार्फत सहारा एकेडेमीसँग जोडिन पाएकोमा खुशी व्यक्त गरे । उनले एकेडेमीका विद्यार्थीहरुको प्रगतीको कामना गर्दै आगामी दिनमा पनि सहयोग जुटाउने प्रतिबद्धता जनाए ।

त्यस्तै सोही अवसरमा सहारा क्लब पोखराकोतर्फबाट सहयोग सामाग्री ग्रहण गर्दै अध्यक्ष थापाले राजन एण्ड ब्रदरहुडलाई धन्यवाद दिए । उनले राजन एण्ड ब्रदरहुडले जस्तै अन्य युवाहरु पनि सामाजिक कार्यमा लाग्नुपर्ने धारणा राखेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा पूर्व राष्ट्रिय फुटबल खेलाडी ईश्वर गुरुङ, सहारा एकेडेमीका प्रशिक्षक विष्णु गुरुङ, अर्विन गुरुङ र ओम गुरुङ लगायतको पनि उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...