कोलकात्तामाथि रुपन्देहीको जीत

रमेश समदर्शी ,इलाम, खेलदैनिक

इलामको ठूलो टुँडिखेलमा जारी माइभ्याली गोल्डकपको तेस्रो संस्करणमा अग्नि रुपन्देही ११ ले शुक्रबार कठिन जीत दर्ता गर्यो ।

साविक प्रतिद्वन्द्वी पाएको रुपन्देहीले भारत कोलाकात्ताको दुर्गापुर स्टील एफसीलाई टाइब्रेकरमा ४-२ गोलअन्तरमा पराजित गरेको हो । गतवर्षको संस्करणमा पनि रुपन्देहीले कोलकात्तालाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश पाएको थियो । निर्धारित समयमा १–१ गोलको बराबरी खेलेका दुवै टोलीले थप १५ मिनेटको खेलमा पनि निर्णय ननिस्कँदा खेल टाइब्रेकरमा पुगेको थियो ।

खेलको २३औँ मिनेटमा कोलकात्ताका लागि बाबुलाल मण्डलले गोल गर्दै अग्रता दिलाए पनि रुपन्देहीका डिफेन्डर विजय धिमालले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।  उनले पहिलो हाफको इन्जुरी समयमा पाएको पेनाल्टी सुटलाई गोलमा परिणत गर्दै खेलमा फर्काएका थिए ।

टाइब्रेकरमा रुपन्देहीका गोलरक्षक सुजित गुरुडले कोलकात्ताका बिबाक सिंहको प्रहार रोकेका थिए भने सामुल्स कानेको प्रहार बाहिरिएको थियो । त्यस्तै, रुपन्देहीका अफ्रिकन खेलाडी एरोन डाइमोन्डको प्रहार कोलकात्ताका गोलरक्षक एस. घोषले बचाउ गरेका थिए । खेलको म्यान अफ दी म्याच कोलकात्ताका बाबुलाल मण्डल घोषित हुँदै नगद सात हजार पाउन सफल भए ।

माइभ्याली फुटबल क्लब र इलाम जिल्ला फुटबल संघले आयोजना गरेको गोल्डकपमा शनिबार नेपाल आर्मीविरुद्ध भारतको ग्लोबल एफसीबीच हुने आयोजकका अध्यक्ष धिरेन चेम्जोङले बताए । रुपन्देहीले झापा ११ सँग क्वार्टरफाइनल खेल खेल्नेछ । गोल्डकप विजेताले नगद चार लाख पाउँदा उपविजेताले नगद अढाइ लाख र ट्फी पाउनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...