अफ्रिकन र संकटाको फाइनल भेट पक्का

पोखर। (खेलदैनिक) । विभागीय टोली नेपाल पुलिस क्लबको चुनौति ०–२ ले पन्छाउँदै अफ्रिकन रुट्स एसोसिएशन, क्यामरुन जारी १९औं आहा! रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अफ्रिकनले अब फाइनलमा चैत्र २८ गते शनिबारका दिन संकटा क्लबसँग उपाधिका लागि भिड्नेछ ।

बिहीबार पोखरा रंगशालामा सम्पन्न खेलमा पुलिसले खेलको तेस्रो मिनट मै पहिलो गोल खान पुगेको थियो । पुलिसका खेलाडीको गल्तीको फाईदा उठाउँदै बासेकले अफ्रिकनका लागि पहिलो गोल गरेका थिए । उनले बक्स नजिकैबाट गरेको बल प्रहारले पोष्टको जाली चुमेको थियो ।

त्यस्तै दोस्रो गोल गर्नका लागि भने अफ्रिकनले अन्तिम समय पर्खन परेको थियो । खेलको अन्तिमतिर ९०+३औं मिनटमा मौसाले अफ्रिकनका लागि दोस्रो गोल थप्दा विभागीय टोलीका खेलाडीहरु भने निराश बन्न पुगेका थिए । बिहीबारको खेलको म्यान अफ द म्याच अफ्रिकनका मौसा घोषित भए ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख १ हजा हात पार्नेछ भने उपविजेताले ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...