धम्बोझी क्लब राष्ट्रिय लिगका लागि छनौट

नेपालगंज (खेलदैनिक) । लुम्बिनी प्रदेशको च्याम्पियन धम्बोझी क्लब राष्ट्रिय फुटबल लिगका लागि छनौट भएको छ । शनिबार कर्णाली प्रदेशको लेकाली युवा क्लबलाई १–३ ले पराजित गरेको धम्बोझी प्रेसिडेन्ट लिगको दोस्रो स्थानमा रहेर राष्ट्रिय लिगका लागि छनौट भएको हो ।

नेपालगन्ज रंगशालामा शनिबार भएको खेलमा धम्बोझीका लागि बिसन गुरुङले ३०औं मिनेटमा, गौरब बुढाथोकीले ४४औं मिनेटमा र निसान लिम्बुले ४८औं मिनेटमा गोल गरेका थिए । उता पराजित लेकालीका लागि संजय धिमालले २४औं मिनेटमा एक मात्र सान्त्वना गोल गरेका थिए । खेलमा धम्बोझीका गौरब बुढाथोकी म्यान अफ द म्याच चुनिए ।

जारी प्रेसिडेन्ट लिगमा धम्बोझीले ६ खेलमध्ये ४ मा जित २ मा हारको सामना गर्दै १२ अंक जोडेको छ । लेकालीले भने ६ खेलमध्ये ५ मा हार र १ बराबरीमा खेल्दै १ अंकमात्र जोडदै अंक तालिकाको पुछारमा छ । एक खेल अगावै सुदुरपश्चिमको स्टार सिटी युवा क्लब, कैलाली १३ अंक सहित लिग च्याम्पियन बनिसकेको छ । त्यस्तै गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब ९ अंक सहित तेस्रो स्थानमा छ ।

आइतबार लिगको अन्तिम दिनको पहिलो खेलमा सैनिक युवा क्लब झापा र मनकामना युवा क्लब रौतहटबिच प्रतिस्पर्धा हुनेछ । अर्को खेलमा स्टार सिटी र त्रिवेणीबिच प्रतिस्पर्धा हुनेछ ।

प्रेसिडेन्ट लिगको विजेताले उपाधिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेताले ५ ल ाख प्राप्त गर्नेछ । त्यस्तै प्रेसिडेन्ट लिगको शिर्ष चार टोलीले शहिद स्मारक ए डिभिजन लिगका शिर्ष ६ टोलीहरुसँग राष्ट्रिय लिग खेल्ने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...