रेडहर्षलाई साखेजुङ गोल्डकपको उपाधि

नेपालटार (इलाम) । रेडहर्ष एफसी, इलाम यहाँ सम्पन्न प्रथम साखेजुङ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

नेपालटार माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा तिनघरे युवा क्लबलाई १ ० ले पराजित गर्दै रेडहर्षले उपाधि जित्न सफल भएको हो । रेडहर्षका लागि पासाङ शेर्पाले एक मात्र निर्णायक गोल गरे ।

फाइनल खेलको म्यान अफ द म्याच रेडहर्षका कप्तान प्रदिप विष्ट घोषित भए । त्यस्तै, रेडहर्षकै माल्दिना आङथुपो सर्वाधिक गोलकर्ता, विनोद क्षेत्री उत्कृष्ट गोलरक्षक र रेशबहादुर गुरुङ उत्कृष्ट प्रशिक्षक घोषित भए ।

चैत्र ६ गतेदेखि सुरु भएको प्रतियोगिताको उत्कृष्ट खेलाडी तिनघरे युवा क्लबका प्रज्वल राई घोषित भए । विजेता रेडहर्षले उपाधिसहित नगद १ लाख ११ हजार १११ पाउँदा उपविजेता तिनघरेले नगद ५५ हजार ५५५ मा चित्त बुझायो ।

इलाम नगरपालिका १ नम्बर वडा कार्यालयको प्रायोजन तथा वडा खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई नगर प्रमुख महेश बस्नेतलगायत अन्य अतिथीहरुले पुरस्कृत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...