प्रेसिडेन्ट लिगः मनकामनाको पहिलो जित

नेपालगंज (खेलदैनिक) । प्रदेश नम्बर २ को च्याम्पियन मनकामना युवा क्लब रौतहटले जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित दर्ता गरेको छ । मंगलबार भएको खेलमा मनकामनाले कर्णाली प्रदेश च्याम्पियन लेकाली युवा क्लब जुम्लामाथि १–० को जित निकालेको हो ।

नेपालगंज रंगशालामा भएको खेलको ३७औं मिनटमा भुवन बस्नेतले मनकामनाका लागि पेनाल्टीबाट एक मात्र निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच भने लेकाली युवा क्लबका कप्तान युद्ध शाही घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

यो जितसँगै मनकामनाले जारी लिगमा महत्वपूर्ण तीन अंक जोडेको छ । उता पराजित लेकाली भने अहिलेसम्म जित हात पार्न सकेको छैन ।

आउँदो चैत्र १५ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेशका लिग च्याम्पियनहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...